मासिक युवाहरूको शक्तिका लागि सन्देश, अप्रिल २०२६
तपाईंका गल्तीहरू पछि—ठूलाहरू पछि पनि
हामी मुक्तिदाता, उहाँको प्रायश्चित्त र पुनः प्रयास गर्ने सम्बन्धमा पत्रुसबाट धेरै सिक्न सक्छौँ ।
Peter’s Denial(पत्रुसको अस्वीकार), कार्ल ब्लकद्वारा
हामीमध्ये धेरैले कम्तिमा एउटा स्मरण बनाएका छौँ जसलाई हामी बिर्सन सकौँ भनेर हामी चाहन्छौँ । चाहे त्यो लज्जास्पदको क्षण होस्, पीडादायी शारीरिक दुर्घटना होस् वा कुनै झगडामा तपाईंले बोल्नुभएका शब्दहरू जुन तपाईं फिर्ता लिन चाहनुहुन्छ, जीवनमा धेरै पटक यस्ता क्षणहरू आउँछन् जहाँ "पुनः वा भिन्न" तरिकाले गर्ने वा "मेटाऊ" भनेर दबाउने बटन भएको भए भन्ने जस्ता प्रलोभन आउन सक्छ ।
तितो अगमवाणी पूरा भयो
नयाँ करारमा प्रेरित पत्रुस एक आकर्षक व्यक्ति थिए । उनीसँग येशूतर्फ पानीमाथि हिँड्ने आस्था र साहस थियो तर केही क्षणपछि नै उनले आफ्नो भयलाई आफूमाथि विजयी हुन दिए र उनले सहयोगका लागि परमप्रभुलाई पुकार्दै डुब्न सुरु गरे (मत्ती १४:२८–३१ हेर्नुहोस्) । हामीलाई पत्रुसको जीवनको सबै विवरण जानकारी छैन तर एक पटक उहाँ धुरुधुरु रोएको विषय हामीलाई जानकारी छ ।
येशू ख्रीष्ट पक्राउ पर्नुभन्दा केही घण्टाअघि, उहाँले भाले दुई पटक बास्नुपूर्व पत्रुसले उहाँलाई तीन पटक अस्वीकार गर्ने छ भनेर अगमवाणी गर्नुभयो । पत्रुसले यस्तो अगमवाणीमा विश्वास गर्न अस्वीकार गरे र "यदि म हजुरसँगै मर्नु पर्यो भने पनि म हजुरलाई कुनै पनि हिसाबले अस्वीकार गर्ने छैन" (मर्कूस १४:३१) ।
अवश्य पनि, मुक्तिदाताको अगमवाणी सत्य भयो । मुक्तिदाताको गिरफ्तारीका सम्बन्धमा वरिपरि भएको आतङ्क र भयसँगै, पत्रुसको बहादुरीले उनलाई असफल बनायो । मुक्तिदातालाई चिन्ने विषयलाई दुई पटक अस्वीकार गरिसकेपछि र तेस्रो पटक दबाब आएपछि, पत्रुसले "सराप्न र शपथ खान सुरु गरे, यसो भन्दै, म यो मानिसलाई चिन्दिनँ जसका सम्बन्धमा तिमीहरू बोल्दै छौ" (मर्कूस १४:७१) ।
जब भाले दुई पटक बास्यो र पत्रुसले मुक्तिदाताको अगमवाणी सम्झनुभयो, "उहाँ … धुरुधुरु रूनुभयो (मत्ती २६:७५) ।
परन्तु त्यो उहाँको कथाको अन्त्य होइन !
कुना मोडियो, सदाका लागि
धर्मशास्त्रबाट हामीले सिक्न सक्ने विषय भनेको त्यसपछि पत्रुसको डरले पुनः कहिल्यै येशू ख्रीष्टमाथिको उनको गवाहीलाई जितेन । उनले हरेक अवसरमा त्यसो गर्दाका व्यक्तिगत जोखिमको वास्ता नगरी मुक्तिदाताको साहसपूर्वक गवाही दिए । स्मरण रहोस्, पत्रुसले येशू ख्रीष्टलाई भर्खरै क्रूसमा टाँगेका मानिसहरूलाई सिकाइरहनुभएको थियो ! खतरा वास्तविक थियो ।
जब पत्रुसले जन्मदेखि नै लङ्गडो भएका मानिसलाई चङ्गाइ दिनुभयो, "नासरतका येशू ख्रीष्टको नाममा उठ र हिँड" भनेर आदेश दिए (प्रेरित ३:६), उनलाई यूहन्नासँगै पक्राउ गरियो र उनले यो चमत्कार कसरी गरे भनेर सोधपुछ गरियो ।
पत्रुसले साहसपूर्वक जवाफ दिए "नासरतका येशू ख्रीष्टको नाममा, जसलाई तिमीहरूले क्रूसमा टाँग्यौ, जसलाई परमेश्वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँद्वारा नै यी मानिस यहाँ तिमीहरूको अगाडि निको भएर उभिएका छन् भनेर तिमीहरू सबैलाई र इस्राएलका सबै मानिसहरूलाई जानकारी होस् ।
"यो त्यो ढुङ्गा हो जुन तिमी निर्माणकर्ताहरूले बेवास्ता गरेका थियौ, जुन कुनाको शिर बनेको छ ।" न त अरू कुनैमा मुक्ति छ: किनकि स्वर्गमुनि मानिसहरूमाझ अर्को कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति प्राप्त गर्नु पर्छ” (प्रेरित ४:१०–१२) ।
कस्तो साहसी जवाफ ! अनि उहाँको विश्वासको स्पष्ट प्रमाण ।
अपूर्ण सेवकहरू, पूर्ण रूपमा सेवा गर्न सक्षम
हामी प्रत्येकले यस जीवनमा पाप गर्ने छौँ । हाम्रा धेरै प्रयासहरूका बावजुद, हामी समय-समयमा हाम्रा आशा र मनसायहरूबाट चुक्ने छौँ । बाह्र प्रेरितहरूको गणका अध्यक्ष, अध्यक्ष जेफ्री आर. हल्याण्ड (१९४०–२०२५) ले एक पटक सिकाउनुभएको थियो, “उहाँका जन्माइएका एकमात्र पूर्ण पुत्रका सम्बन्धमा बाहेक, परमेश्वरलाई सबै अपूर्ण मानिसहरूसँग कार्य गर्नुपरेको छ ।”
तपाईंको आध्यात्मिक मूल्य तपाईंका गल्तीहरूद्वारा परिभाषित गरिँदैन वा सीमित हुँदैन—ठूला गल्तीहरू पनि ! किनकि उनले पश्चात्ताप गरे र ख्रीष्टले उनलाई क्षमा गर्नुभयो, पत्रुसले ख्रीष्टलाई अस्वीकार गरेपछि पनि गवाही दिन, सिकाउन र महान् शक्तिद्वारा परिवर्तन गर्नबाट उनलाई रोकेन । धर्मशास्त्रहरू अन्य शिष्यहरूका उदाहरणहरूले भरिएका छन् जसले पाप गरे, पश्चात्ताप गरे र ख्रीष्टमा आस्थासहित अगाडि बढे ।
तपाईंका गल्तीहरू बढ्दैछन् र तपाईं कहिल्यै तिनीहरूमाथि विजय प्राप्त गर्न सक्नुहुन्न भनेर सैतानले सदैव तपाईंलाई यस विषयमा विश्वस्त पार्ने प्रयास गर्ने छ । उसको झूटलाई बेवास्ता गर्नुहोस् !
युवातीहरूकी साधारण अध्यक्षताकी प्रथम सल्लाहकार सिस्टर टमारा डबल्यू. रुनियाले सिकाउनुभयो: “तपाईंहरूले यो सुन्नु आवश्यक छ, त्यसैले म यी शब्दहरू ठूलो स्वरमा भन्ने छु: तपाईंहरू आफ्नो मस्तिष्कमा भएको आवाज वा तपाईंहरूले गरेका गल्तीहरू हुनुहुन्न । तपाईंले त्यो पनि ठूलो स्वरमा भन्नुपर्ने हुन सक्छ । सैतानलाई भन्नुहोस्, ‘आज होइन ।’ उसलाई आफ्नो पछाडि राख्नुहोस् ।
“त्यो तन्काइ, दैवी पीडा महसुस गर्नुहोस् जसले तपाईंलाई तपाईंका मुक्तिदातातर्फ फर्काउँछ, अनि उहाँको अनुग्रह तपाईं र तपाईंले प्रेम गर्नेहरूको जीवनमा प्रवेश गरेको हेर्नुहोस् । हामीले टुटेका हृदयलाई साहसपूर्वक उहाँतर्फ ल्याउँदा, उहाँ तत्कालै त्यहाँ हुनुहुन्छ भनेर म प्रतिज्ञा गर्छु ।”
Christus Consolator(ख्रीष्ट सान्त्वनाकर्ता), कार्ल ब्लकद्वारा
तपाईंहरूका अगाडिका उज्याला दिनहरू
यस ईस्टरको समयमा, जब तपाईं मुक्तिदाताको प्रायश्चित्तलाई पूर्ण रूपमा मनन गर्नुहुन्छ, पश्चात्ताप गर्ने र पुनः प्रयास गर्ने क्षमता तपाईंले प्राप्त गर्न सक्ने सबैभन्दा महान् उपहारहरू मध्येको एक हो भनेर स्मरण गर्नुहोस् । येशू ख्रीष्टका कारण तपाईंहरूका सबैभन्दा खराब गल्तीहरू क्षमा गरिन अनि त्यसपछि भारी साङ्लाहरू जस्तै फ्याँकिन सकिन्छ ।
“मुक्तिदाता सदैव लाजको अन्धकारभन्दा धेरै बढी चमकिलो हुनुहुन्छ,” भनेर सिस्टर रुनियाले सिकाउनुभएको छ ।
तपाईंहरू उहाँमा केन्द्रित रहँदा येशू ख्रीष्टका कारण आशा उज्ज्वल रूपमा सदैव अगाडि चम्कन सक्छ ।
© 2026 by Intellectual Reserve, Inc. सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, April 2026को अनुवाद । Nepali.. 20064 372